मनोज यादव—- सर्लाही,कात्तिक ६
नेपाल सुनचाँदी व्यवसायी संघ मलंगवा सर्लाहीको चुनावमा धाँधली भएको भन्दै संघका सदस्यहरुले आपत्ति जनाएका छन् ।
मलंगवा नगरपालिका वडा न-८ स्थित मोहरसिंह धर्मशालामा पत्रकार सम्मेलनको आयोजना गरि दुई महिना अघि सम्पन्न भएको चुनावमा निर्विरोध निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरु सम्मलित नयाँ कमिटीलाई मान्यता नदिइ संघका केही सदस्यहरुले निवर्तमान अध्यक्ष महेन्द्र साह सोनारलाई आफ्नो प्रभावमा पारेर कात्तिक ३ गते शनिवार पुनः निर्वाचन गराएर एकलौटी ढंगले कमिटी गठन गरेको प्रति असहमति जनाएका हुन् ।
गत साउन ३० गते सुनचाँदी व्यवसायीहरुको छाता संगठन सुनचाँदी व्यवसायी संघको सम्पन्न निर्वाचनमा विनय कुमार साहको अध्यक्षतामा १५ सदस्यीय सर्लाही जिल्ला कमिटी गठन गरिएको थियो ।
उक्त कमिटी गठन भएको समाचार विभिन्न संचार माध्यमहरुबाट प्रकाशन प्रसारण समेत भएको थियो।
निर्वाचन सम्बन्धि सम्पूर्ण प्रक्रिया र निर्वाचित पदाधिकारीहरुको बारेमा काठमाडौको नक्साल स्थित नेपाल सुनचाँदी व्यवसायी महासंघलाई समेत जानकारी गराएको र सोही जानकारीको आधारमा महासंघले नव गठित कार्यसमितिलाई दैनिक कार्य संचालन गर्नुपर्ने भएकोले सोको लागि निवर्तमान अध्यक्षको कार्यकाल रहँदा सम्म संघको जिन्सी,नगदी तथा सम्पूर्ण कागजातहरुको बरबुझारथ गर्न भनि पत्राचार गर्दा पनि निवर्तमान अध्यक्ष महेन्द्रले ३५ दिनसम्म केही बरबुझारथ नगर्ने भनि ठाडो जवाफ दिएको र २०८१ साल भदौ १३ गतेको मिति राखी यस संघको लेटर पैडको दुरुपयोग गरि भदौ ३० गते मलंगवा-८ स्थित मोहरसिंह धर्मशालामा चौथो अधिवेशनमा सहभागी हुन अनुरोध गरिएको पत्र सार्वजनिक गरेपछि निवर्तमान अध्यक्षले आफ्नो कार्यकालमा गरेको आर्थिक अनियमितता तथा हर हिसाब दिनु नपरोस् भनेर गरेको गलत क्रियाकलाप प्रति आफुहरुलाई शंका लागेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशलाई पत्र मार्फत अवगत गराएको अध्यक्ष विनयले पत्रकारहरुलाई जानकारी गराएको छ।
संघको चौथो अधिवेशन सम्पन्न गराउनको लागि २०८१ साल साउन २० गते निवर्तमान अध्यक्ष महेन्द्र साह सोनारको अध्यक्षतामा कार्यसमितिको बैठक बसी उक्त बैठकको निर्णयअनुसार अधिवक्ता रंजित पाण्डेलाई निर्वाचन अधिकृत नियुक्त गरि निजले नै निकालेको निर्वाचन सम्बन्धि कार्यतालिकाको आधारमा साउन ३२ गते शुक्रवारका दिन प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशका सभापति रामजी साह विशिष्ट अतिथि महासंघका केन्द्रीय सदस्य कामेश्वर साह ,निवर्तमान केन्द्रीय सदस्य राम आशिष साह, लालबन्दी नगर संघ अध्यक्ष सुरेश साह,व्यवसायी संघ मलंगवाका निवर्तमान महासचिव कमलेश साह लगायत सम्पूर्ण व्यवसायीहरुको उपस्थितिमा चुनाव सम्पन्न गरि नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा सम्मान कार्यक्रम समेत भइसके भए पनि निवर्तमान अध्यक्ष आफ्ना केही सहयोगीहरुसँग मिलेर पुनः चुनाव गराई आफुले गरेको आर्थिक अनियमितलाई छोप्न खोजेको अध्यक्ष विनयले बताए ।
उनले निवर्तमान अध्यक्ष महेन्द्र पक्षधरले साउन ३२ गतेको अधिवेशन कानुन सम्मत नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएको र सोही निवेदनको आधारमा दुवै पक्षलाई बोलाए छलफल गराउँदा दुवै पक्ष सहमतिमा नआए पछि विवाद समाधानार्थ जिप्रकाले लेखेको पत्रको समेत अपव्याख्या गरि अधिवेशन आवह्वान गरेपछि आफुहरुले यस्तो गर्न नदिन भनि जिप्रकामा निवेदन दिएपछि कार्यालयले सुरक्षा सम्वेदनशीलतालाई मध्येनजर गर्दै आपसी सहमतीमा विवाद निरुपण गरेर मात्र अधिवेशन लगायतका अन्य कार्यक्रमहरु गर्न गराउन भनि लिखित आदेश दिंदा समेत प्रशासन कार्यालयको आदेशको अवज्ञा गर्दै महेन्द्र पक्षघरले मनपरि ढंगले निर्वाचन गराएको बताएका छन् ।
जिल्ला प्रशासनको आदेश अनुसार आफुहरुसँगको सहमतिमा विवाद निरुपण गरेर अधिवेशन गर्न गराउन भनिए पनि यस विषयमा एकपटक पनि छलफल नगरेको अध्यक्ष विनयले पत्रकारहरुलाई जानकारी गराएको छ। गत शनिवार भएको निर्वाचनमा बहुमत पुर्याउन संघमा आबद्ध नभएका गैर सदस्यहरुसँग मतदान गर्न लगाएको साथै एउटै ब्यक्तिले ३ देखि ४ पटक सम्म पनि मतदान गरेको पाइएको उनले दावी गरेका छन् ।
महेन्द्र पक्षधरले गराएको अधिवेशन संघको विधान विपरित भएको र अधिवेश सम्बन्धित सम्पूर्ण क्रियाकलाप संघको विधान बमोजिम पहिल्यै नै सम्पन्न भइसकेकोले उनले गराएको अधिवेशन र चुनिएका पदाधिकारीहरु मान्य नहुने अध्यक्ष विनय कुमार साह पक्षधरको भनाई छ।