Loktantra Khabar National Weekly
Ad

उदाउँदो सूर्यलाई अर्घ दिएर छठपर्वको समापन

लोकतन्त्र खबर
२३ कार्तिक २०८१

बखतियार अलि–
सर्लाही २३ कार्तिक । श्रद्धा र आस्थाका साथ मनाउने लोक आस्था र प्रकृति पूजनको महापर्व छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइएको पर्व आज उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै सम्पन्न भएको हो ।

 

छठपर्वको अन्तिम दिन सप्तमी तिथिमा व्रतालुहरू प्रसाद र फलफूल सुपली र ढकनीमा सजाएर सूर्यको उदयअघि नै जलाशयमा प्रवेश गरेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए । विधि विधानका साथ चार दिनसम्म चलेको छठ पर्वको पहिलो दिन मङ्गलवार ‘नहाय–खाय’ बाट शुरु भएको थियो ।

 

पहिलो दिन व्रतालुहरूले पवित्र जलले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए । त्यसको भोलिपल्ट बुधवार ‘खरना’ अर्थात् रसियाव रोटी विधिमा व्रतालुहरूले दिनभर उपवास गरी साँझमा दूध र चामलबाट बनेको खिर, केरा र मिठाइहरू छठी मातालाई अर्पण गरी प्रसादका रूपमा परिवारलाई वितरण गरेका थिए ।

 

हिजो बुधवार छठ पर्वको मुख्य विधि सझिया घाटका दिनमा व्रतालुहरूले दिउँसो स्नान गरी नयाँ र चोखो वस्त्र धारण गरी नदी, पोखरी वा तलाउमा तयार पारिएको छठ घाटमा उपस्थित भई बिशेष पूजा गरेका थिए ।

 

बाँसको चोयाबाट बनेको सुपली र माटोको ढकनीमा उखु, केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, नरिवल, केराउ, चामलका अछेता, र मूला राखी अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरिएको थियो । बुधवार साँझमा पहिलो अर्घ सम्पन्न भएसँगै श्रद्धालुहरूले बुधवार राति गरिने कोसी पूजा पनि गरेका थिए ।

 

आज बिहान उदाउदो सूर्यलाई अर्घ दिए पछि छठ घाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दूर पनि लगाइ दिए । त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किए ।

 

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन भएपछि बर्तालुहरु एकअर्कालाई खुसि सटासाट गर्दै अंकमाल गरेर सबैमा बधाई र शुभकामना दिदै छठपर्व समापन गरेको हो । छठपर्व समापन भएपछि छटपर्वको प्रसाद एकअर्कालाई बितरण गर्ने परमपरा रहि आएको छ ।

प्रतिक्रिया दिनुहोस्: