मनोज यादव—
सर्लाही,मंसिर १३
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर-२ मा रहेको श्री पब्लिक माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन स्थगित गरिएको छ। बुधबार आयोजना गरिएको अभिभावक भेलामा सर्वसम्मतबाट व्यवस्थापन समितिका चारजना सदस्यहरु चयन गर्न नसकेपछि अर्को सूचना जारी नहुन्जेलसम्मको लागि व्यवस्थापन समितिको निर्वाचन स्थगित गरिएको हो।
समितिको सदस्यमा पुरुषबाट २ जना र महिलाबाट २ जना गरि चारजनाको नाम छनौट गर्नु पर्ने भएकोले सदस्य पदका आकांक्षी उमेदवारहरु बिच सहमति गराउन सबै प्रकारले प्रयास गरिए पनि उनीहरू बिच सहमति गराउन नसकेपछि अनिश्चित समयसम्मको लागि चुनाव स्थगित गर्नु परेको विद्यालयका प्राधानाध्यापक सुवास यादवले जनाएका छन् ।
नयाँ समिति छनौटको लागि भएको अभिभावक भेलामा पुरुषतर्फबाट २१ जना र महिलातर्फबाट १० जनाले सदस्यको लागि आ-आफ्नो नाम अघि सारेका छन् ।
बुधबार आयोजना भएको अभिभावक भेलामा मलंगवा नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद मण्डल ,वडा नम्बर २ का वडाअध्यक्ष धिरेन्द्र साह,पब्लिक माविका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरजु राय,वडा नम्बर २ का पुर्व वडाअध्यक्ष राम उजैन राय,पुर्व शिक्षक नन्दीपत यादव,मावि सुन्दरपुरका प्रअ राम किशोर महतो,भोला साह सोनार लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्: