मनोज यादव—
सर्लाही,पुस २
सर्लाही जिल्लाको पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सदरमुकाम मलंगवामा हुलाकी सडकको काम अलपत्र अवस्थामा रोकिएको छ । जिल्लाका अन्य ठाउँको हुलाकी सडक बनिसके पनि सदरमुकाम मलंगवामा भने काम बिचमै रोकेर अस्तव्यस्त अवस्थामा छाडिएको छ।
मलंगवा नगरपालिकाको वडा न-१० टावरचोक देखि वडा न-८ रंजितकार कोल्ड स्टोरेज र वडा न-२ राजश्री सिनेमा चोकदेखि वडा न-७ मुसैलीसम्मको काम अघि बढ्नै सकेको छैन् । हुलाकी सडकको सर्लाहीखण्डमा बाँके खोलादेखि बागमतीसम्म अन्यत्र सडक कालोपत्रे भएपनि मलंगवाको मुख्य बजार क्षेत्र र मुसैलीमा मात्रै काम हुन सकेको छैन ।
कच्ची सडकका कारण स्थानीयहरु धुलोको सास्ती खेप्न थालेका छन् ।
नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बारम्बार घच्घच्याउँदा पनि सडक कालोपत्रे हुन नसकेको गुनासो गरेका छन् । करिव दुुई किलोमिटर सडक कालोपत्रे हुन नसकेपछि धुलोले असाध्य समस्या गरेको भन्दै पटकपटक स्थानीयहरुले चक्काजाम , टायर बालेर प्रदर्शन जस्ता दबाबमूूलक कार्यक्रमहरु समेत गरिसकेका छन् तर,पनि कुनै सुनवाइ नभएको चौधरीले दु:खेसो गरेका छन् ।
सडक कालोपत्रे गराउन भनी जनप्रतिनिधि, सुरक्षा अधिकारी, सडक कार्यालयका प्रमुखलगायतले बारम्बार अनुमगन समेत गरेका छन् ।
हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्ण महतोले मलंगवा र मुसैलीमा यसै वर्षभित्र सडक कालोपत्रे पूूरा हुने जानकारी दिएका छन् । स्थनीयहरुले भने चिसो मौसममा तापक्रम नपुुग्ने भएकाले तत्काल कालोपत्रेको काम हुनेमा आशंका गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: