Loktantra Khabar National Weekly
Ad

भारतीय बजारमा किनमेल गर्दा बट्टाको नाममा अतिरिक्त पैसा तिर्न बाध्य नेपाली ग्राहक सस्तो सामानको नाममा खुलेआम ठगीदै नेपाली

लोकतन्त्र खबर
६ माघ २०८१

मनोज यादव-
सर्लाही,माघ ६
नेपालीहरु सीमापारिको भारतीय बजारमा किनमेल गर्न जाँदा त्यहाँका व्यापारी बट्टाको नाममा अतिरिक्त रकम लिने गरेका छन् । सिमापारीका भारतीय ब्यापारीहरु नेपाली ग्राहकलाई जुनसुकै सामान किन्दा १ सय भारुको लागि नेपाली १ सय ६० को सट्टा सो रकम भन्दा बढी रुपैयाँ तिर्न बाध्य पार्ने गरेको नेपाली ग्राहकहरुले बताएका छन् ।
सिमाक्षेत्रका सहर बजारमा भारु पैसा साट्ने सटही काउन्टर नहुँदा नेपाली ग्राहकहरु मजबुरीबस नेपाली पैसा बोकेर किनमेल गर्न जाने गरेकाले भारतीय बजारमा सामानको खरिदारी गर्दा बट्टा वा कमिशनको नाममा अतिरिक्त रकम तिर्नुपरेको मलंगवा नगरपालिका वडा न(२ की ग्राहक मुक्ता यादवले बताइन ।
सर्लाही जिल्लासँग सीमा जोडिएको भारतीय बजार सोनवर्षा, कन्हौली,मेजरगंज बजारमा किनमेल गर्न पुग्ने नेपाली ग्राहकहरुसँग त्यहाँका व्यापारीले नेपाली पैसामा मनपरि कमिशन लिएर सामान दिने गरेको कबिलासी(९,सलेमपुरका ग्राहक राकेश यादवले बताए । उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली १६० रुपैयाँ भन्दा बढी बट्टा लिने गरेको बताए ।
बालबालिकाको लागि कपडा खरीद गर्न सोनवर्षा बजार पुगेका मलंगवा(९ का स्थानीय सुनिल रायले आफूले त्यहाँ किनमेल गर्दा भारु १ सयको लागि नेपाली १६० भन्दा बढी पैसा तिर्नुपरेको गुनासो सुनाएका छन्।
नेपाली बजारमा भारतीय पैसाको अभाव भएकै कारण नेपाली ग्राहकले अतिरिक्त पैसा तिर्नुपरेको जानकारहरुको भनाइ छ। यता नेपाली बजारमा सामानहरु महँगो र भारतीय बजारमा सस्तो पाउने सोंचले बट्टा तिरेरै भए पनि सिमाक्षेत्रका नेपाली ग्राहकहरु भारतीय बजारमा किनमेलका लागि जाने गरेका छन्। जबकी भारतबाट किनेर ल्याएको सामान र नेपाली बजारमा पाउने सोही सामानको मुल्यमा दुई(तीन रुपैयाको मात्र अन्तर हुने गरेको छ।
सस्तोको लोभमा दैनिक हजारौं नेपाली ग्राहकहरु ठगीको सिकार बन्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: