लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ ७
जिल्ला विपद व्यवस्थापन समिति सर्लाही मार्फत प्रमुख जिल्ला अधिकारीसहितको टोलीले चन्द्रनगर गाउँपालिकाका स्थानीय दलित परिवारलाई फाइबर सिरक वितरण गरेका छन् ।
प्रजिअ तुलसी बहादुर श्रेष्ठ, सहायक प्रजिअ होमप्रसाद घिमिरे, चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष गीतादेवी महतो, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका निमित्त जिल्ला प्रमुख रामरिजन यादव, चन्द्रनगर गापा-३ का वडाध्यक्ष सीताराम महतोलगायतले वडा न-३ र ४ का ५५ दलित परिवारलाई एक-एक थान फाइबर सिरक वितरण गरेका छन् ।
जिल्ला विपद व्यवस्थापन समिति सर्लाही द्वारा जिल्लाका विभिन्न पालिकामा चिसोबाट अति प्रभावित दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्ने कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जनाएका छन् ।
यसअघि समितिले गत शनिबार बलरा नगरपालिका र रामनगर गाउँपालिकाका १५२ परिवार, शुक्रबार पर्सा गाउँपालिकाका ६८ परिवार र बिहीबार विष्णु गाउँपालिकाका ६१ परिवारलाई फाइबर सिरक वितरण गरिसकेको यादवले जानकारी दिए।
जिल्ला विपद व्यवस्थापन समिति द्वारा हालसम्म सर्लाहीका ३३६ दलित तथा विपन्न परिवारलाई फाइबर सिरक वितरण गरिसकिएको छ।
प्रतिक्रिया दिनुहोस्: