Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा आज धुमधामसँग सरस्वती पूजा मनाइँदै

लोकतन्त्र खबर
२१ माघ २०८१

मनोज यादव-
सर्लाही , माघ २१
सदरमुकाम मलंगवासहित सर्लाही जिल्लाभरि आज विद्या तथा ज्ञानकी देवी सरस्वतीको पूजा धुमधामका साथ मनाइँदैछ। जिल्लाका सबै विद्यालय, कलेज, शैक्षिक संस्थाहरू तथा विभिन्न मन्दिरहरूमा विधिपूर्वक सरस्वती पूजाको आयोजना गरिएको छ।
सदरमुकाम मलंगवासहित गोडैता,कबिलासी,कौडेना,पर्सा ,
हरिपुर्वा,चन्द्रनगर,बलरा, हरिवन, लालबन्दी, बरहथवा, हरिपुर, इश्वरपुर लगायतका क्षेत्रमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको विशेष उपस्थितिमा पूजापाठ भइरहेको छ। शिक्षालयहरूमा देवी सरस्वतीको मूर्ति स्थापना गरी विद्या, बुद्धि तथा सिर्जनात्मक क्षमताको वृद्धि होस् भन्ने कामना गर्दै पूजा गरिँदैछ।
मलंगवास्थित विभिन्न निजी तथा सरकारी विद्यालयहरूमा भब्यसजावट गरिएको छ भने भजन(कीर्तन, प्रसाद वितरण र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना भएका छन्। विद्यार्थीहरूले देवी सरस्वतीको विशेष आराधना गर्दै अक्षरारम्भ, हवन तथा अन्य धार्मिक अनुष्ठानमा भाग लिएका छन्।
यस अवसरमा विद्यालयहरुमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदा ठूलो घुइँचो लागेको छ।
विद्यार्थी तथा शिक्षाविद्हरूका लागि यो पर्व विशेष महत्त्वको मानिन्छ। सरस्वती पूजाले बालबालिकाहरूलाई अध्ययनमा प्रेरित गर्ने विश्वास गरिन्छ। देवी
सरस्वतीको पूजाले ज्ञान र शिक्षाको महत्वलाई अझ प्रवर्द्धन गर्ने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: