लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ २२
सर्लाहीको धनकौल गाउँपालिका–२ सहनी टोलस्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
चिनी मिलबाट तेल बजारतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ त ३०७१ नम्बरको ट्र्याक्टर सोमबार राति दुर्घटनामा परेको हो। ट्र्याक्टर अनियन्त्रित भई सडकको बाँया साइडबाट अन्दाजी १० फिट तल रहेको पोखरीमा ट्रलीसहित खस्दा चालकको ज्यान गएको हो।
दुर्घटनाको सूचना राति ९:३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक नारायण कुमार दाहाल नेतृत्वको टोली तथा बरहथवा प्रहरी टोली घटनास्थल पुगेको थियो। ट्र्याक्टर निकाल्ने क्रममा अन्दाजी २६/२७ वर्ष उमेरका एक पुरुषलाई ट्र्याक्टरले च्यापिएको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मृतक ट्र्याक्टर चालक रहेको बुझिएको छ, तर उनको पहिचान खुल्न सकेको छैन।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।