Loktantra Khabar National Weekly
Ad

साहु समुदायमाथि निरन्तर आक्रमण, दोषीमाथि कारबाहीको माग

लोकतन्त्र खबर
६ फाल्गुन २०८१

लोकतन्त्र समाचारदाता-
सर्लाही, फागुन ५
साहु पीडित संघर्ष समिति, सर्लाहीले साहु समुदायमाथि भइरहेको निरन्तर आक्रमणको विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी र सर्लाही प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार संघर्ष समितिका सदस्यहरुले प्रजिअ तुलसी बहादुर श्रेष्ठ र प्रहरी उपरीक्षक लाई ज्ञापनपत्र बुझाएका हुन्।

समितिले जारी गरेको ज्ञापनपत्रअनुसार, सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. १० सीतापुर निवासी रामबाबु राय यादवलाई २०८१ माघ २३ गते जिल्ला अदालतमा तारेख लिन गएका बेला अराजक समूहले घेराबन्दी गरी कुटपिट गरेको जनाएको छ। साहु समुदायमाथि भइरहेको निरन्तर आक्रमणप्रति समितिले गम्भीर ध्यानाकर्षण गराएको छ।

समितिले विगत दुई वर्षदेखि अपराधी समूहहरूले साहु समुदायलाई लक्षित गरी कुटपिट, ठगी, गुण्डागर्दी, दलाली, र बेइमानीपूर्ण गतिविधि गरिरहेको आरोप लगाएको छ। साथै, जिल्ला अदालत नजिकै ऋणी संघर्ष समितिको नाममा अवैध रूपमा सञ्चालित कार्यालयबारे पनि समितिले चासो व्यक्त गरेको छ। सरकारले कुनै स्वीकृति नदिएको र कानूनी दर्ता नगरिएको यस्तो कार्यालय तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ।

दोषीमाथि कडा कारबाही नभएको खण्डमा साहु संघर्ष समिति बाध्य भएर जस्तालाई त्यस्तै प्रतिकार गरि चरणबद्ध आन्दोलन गर्ने र घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

समितिले दोषीको पहिचान गरी कडा कानूनी कारबाही गर्न, साहु समुदायको सुरक्षाको प्रत्याभूति गर्न, र गैरकानुनी कार्यालय बन्द गर्न प्रशासनसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्: