Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा १५० जना भन्दा बढी सवारी चालक र सह–चालकको निःशुल्क आँखा परीक्षण

लोकतन्त्र खबर
८ फाल्गुन २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही,फाल्गुन ८
७५औं प्रजातन्त्र दिवसको अवसर पारेर सर्लाहीमा डेढ सय भन्दा बढी सवारी चालक र सह-चालकहरुको नि:शुल्क आँखाको परिक्षण गरिएको छ। सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणको उदेश्यले  जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,  ईश्वरपुर नगरपालिका, आँखा उपचार केन्द्र ईश्वरपुर , नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर र इलाका प्रहरी कार्यालय केशरगंजको संयुक्त सहकार्यमा सवारी चालक तथा सह–चालकको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण गरिएको हो।
बुधबार सम्पन्न भएको कार्यक्रममा १५३ जना चालक तथा सह–चालकको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आँखामा समस्या देखिएका ४३ जनालाई निःशुल्क चस्मा तथा १०० जनालाई निःशुल्क औषधि वितरण गरिएको आँखा उपचार केन्द्र ईश्वरपुरका प्रमुख चन्दन मणी रामले जानकारी दिए।
आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष प्रकाश मैनालीका अनुसार सवारी चालक तथा सह–चालकको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षणले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै,ईश्वरपुर न.पाका प्रमुख मनोज कुमार आचार्यले भरतपुर आँखा अस्पतालसँग समन्वय गरी सञ्चालन भइरहेको आँखा उपचार केन्द्रमा सवारी चालक तथा सह–चालकको समेत आँखा परीक्षण गराउन पाएकोमा खुसी व्यक्त गरे।परीक्षण गराइएकामध्ये केही स्थानीय नागरिक समेत रहेका थिए।
उक्त नि:शुल्क शिविरमा नगरप्रमुख आचार्य, ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरे, इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशी, ईश्वरपुर नगरपालिका वडा न-९ का वडाध्यक्ष नन्दलाल चौधरी, वडा न-१० का वडाध्यक्ष रास नारायण चौधरी, बडा न-११ का कार्यवाहक वडाध्यक्ष राम पुकार चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: