Loktantra Khabar National Weekly
Ad

मलंगवाबाट पौने २ लाख नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ

लोकतन्त्र खबर
२८ फाल्गुन २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,फागुन २७
सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित गोरखकाली प्रहरी चौकी सडक खण्डबाट प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला सुनवा गाउँपालिका–७ सुन्दरपुर निवासी ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर,
रौतहट जिल्ला गढीमाई नगरपालिका–९ चिलमिलिया टोल निवासी ५६ वर्षीय राम नारायण सहनी,सर्लाही जिल्ला धनकौल गाउँपालिका–७ बैरिया निवासी ४८ वर्षीय दुलार सहनी,जिल्लाकै  ब्रह्मपुरी गाउँपालिका–२ निवासी ५० वर्षीय रामपृत सहनी र सोही ठाउँकी ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन् । विशेष सुराकीका आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरूलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरू तीनवटा मोटरसाइकलमा सवार भएर भारतबाट नेपालतर्फ नक्कली नोट लिएर आउँदै गरेका थिए। चेकजाँचका क्रममा उनीहरूको साथबाट कार्टुनमा प्याक गरी ल्याएको नक्कली नेपाली नोट १,००० दरका ८८ बण्डल जम्मा १,७६,००० रुपैयाँ बरामद गरिएको छ। उक्त बण्डलमा तलमाथि एक-एक वटा सक्कली नोट राखिएको र बीचमा सेतो कागज राखी नक्कली नोटको स्वरूप दिइएको भेटिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: