Loktantra Khabar National Weekly
Ad

गर्मीले गर्दा विद्यार्थीहरु बिरामी पर्न थालेपछि अभिभावकहरु द्वारा बिदाको माग

लोकतन्त्र खबर
१७ जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ १७

पछिल्लो केही दिनदेखि सर्लाहीसहित तराई मधेसमा बढेको गर्मीका कारण विद्यालय जाने उमेरका बालबालिकाहरु बिरामी पर्न थालेका छन् ।

आफ्ना बालबालिकाहरु बिरामी पर्न थालेपछि तापक्रममा सुधार नआउन्जेल सम्मको लागि विद्यालय बन्द गर्न स्थानीय अभिभावकहरुले सुझाव दिएका छन् ।

प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट नवल किशोर झा का अनुसार अहिले विशेषगरी मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिकाहरु प्रभावित बनेका छन् ।

अहिले अस्पतालको ‘ओपिडी’मा दैनिक ३ सय भन्दा बढी बिरामीहरु उपचारका लागि आउने गरेकोमा १०० जनाभन्दा बढी बिरामी बालबालिकाहरु मात्र हुने गरेको उनले बताए ।

विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापाखाला, पेट दुख्ने समस्या देखिएको डा.झा ले भने।

उनले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्न, खाना खानुभन्दा अघि राम्ररी साबुनपानीले हात धोएर मात्र खाना खान, घरकै खाना खान, पानी धेरै पिउन, सफा खाने कुरा मात्र खान, घाममा नबस्न र घर बाहिर धेरै हिँडडुुल नगर्न सुझाव दिएका छन् ।

गर्मी सहन नसकेर बालबालिकाहरु बिरामी पर्न थाले पछि उनीहरूलाई बिरामी हुनबाट जोगाउन केही दिनको लागि विद्यालय बन्द गर्न अभिभावकहरुले सुझाव दिएका छन् ।

अत्यधिक गर्मी बढेपछि सर्लाही जिल्लाका केही विद्यालय बन्द छन् ।

गर्मीले पठनपाठनमा कठिनाइ भएको र विद्यार्थीहरु बिरामी पर्न थालेको कुरालाई मध्यनजर गरी मलंगवा नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक (मदरसा समेत) तथा संस्थागत विद्यालयमा बर्षे बिदाबाट कट्टा हुने गरी बिदाको लागि पहल गरिदिन स्थानीय अभिभावकहरुले नगरपालिकालाई सुझाव दिएका छन्।

अहिले सर्लाहीको तापक्रम बढीमा ४० डिग्रीसम्म पुग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्: