मनोज यादव—
सर्लाही,जेठ २९
वर्षौंदेखि जिर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भई पटकपटक दुर्घटना समेत हुँदै आएको भन्दै सर्लाहीको कौडेना गाउँपालिका वडा न-४,मोतीपुरका स्थानीय बासीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।
सो गाउँपालिकाको वडा न-४ मोतीपुर गाउँलाई सदरमुकाम मलंगवासँग जोड्ने ३ किलोमिटर लामो सडक खण्डमा आज(मंगलबार)बिहानैदेखि स्थानीय बासीहरुको समूहले टायर बालेर सडक अबरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।
सडकमा भएका ठूला-ठूला खाल्डाखुल्डीका कारण दिनहुँजसो दुर्घटनाहरु हुने गरेको र हिजो राती पनि उपचार गराउन टेम्पुमा चढेर मलंगवातर्फ जाँदै गरेकी एक गर्भवती महिला सडकमा भएका खाल्डाखुल्डीका कारण टेम्पुबाट लडेर गम्भीर घाइते हुँदा उनको पेटमा भएको बच्चा समेतको ज्यान गएको स्थानीय युवा विशाल साहले बताए ।
सडक मर्मतको लागि पटकपटक सम्बन्धित निकायलाई भन्दा पनि चासो नलिएका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको साहले बताए।
आफुहरुको माग पूरा नभए सम्म यसैगरी आन्दोलन गरिरहने प्रदर्शनकारी स्थानीयहरुले चेतावनी दिएका छन्।