मनोज यादव—
सर्लाही, असार २३
अबदेखि नागरिकता सम्बन्धि काम आफ्नो पालिकाको पालो अनुसार मात्र गराउन पाउने भएको छ ।
नागरिकता लिने सेवाग्राहीको अत्यधिक चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले एक सूचना जारी गर्दै पालिका अनुसार बार तोकेर सेवा दिने गरि नियम लगाएको छ ।
एउटा पालिकाका वासिन्दाले तत्कालका लागि हप्तामा २ दिन मात्रै सेवा पाउने गरी पालो लगाइको छ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार बलरा, हरिपुर, गोडैता, धनकौल र हरिपूर्वाका वासिन्दाले आइतबार र वुधबार,ईश्वरपुर, बसबरिया, रामनगर, कविलासी, चक्रघट्टा र पर्साका वासिन्दाका लागि सोमबार र बिहीबारको लागि छुट्याइएको छ।
त्यसैगरी कौडेना, मलंगवा, विष्णु, चन्द्रनगर र ब्रम्हपुरीका वासिन्दाका लागि मंगलबार र शुक्रवारको लागि दिन छुट्याइएको छ।
आफ्नो पालिकाको पालो भएको दिन मात्रै सेवा लिन आउन सोही सूचना मार्फत प्रजिअ अधिकारीले सेवाग्राहीहरुसँग आग्रह गरेका छन् ।
आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्र नम्वर अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय मलंगवामा नयाँ नागरिकता र प्रतिलिपी नागरिकता लिने सेवाग्राहीको अत्यधिक चाप बढेकाले त्यसको व्यवस्थापन एवं सरल, सहज रुपमा नागरिकलाई सेवा प्रवाहको प्रवन्ध मिलाउन बिहान, बेलुका र बिदाको दिन समेत कार्यालय खोलेर सेवा प्रवाह गरिएको प्रजिअ अधिकारीले बताए ।
उनले असार २८ गतेसम्मको लागि टोकन वितरण भइसकेको अवस्थामा पनि सेवा लिन सबै सेवाग्राहीहरु एकै दिन प्रशासन कार्यालयमा आउँदा सेवाग्राहीहरु सेवा नपाई फर्कनु परिरहेकोले असार २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पालिका अनुसार पालो लगाइएको बताए ।
नागरिकताका लागि मात्रै स्थानीय तह अनुसार पालो लगाइए पनि राष्ट्रिय परिचयपत्र लगायत अन्य सेवा भने यथावत प्रवाह हुने उनले जानकारी दिए ।