काठमाडौं असार २३, नारायणी नदीको भंगालोमा फसेका दुई जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार राति सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० वर्षका ओम बहादुर गुरुङ र ४२ वर्षका खुमबहादुर गुरुङ छन् । बाढीमा फसेका ३५ वर्षका रमेश बोट भने आफैं पौडिएर निस्किएका थिए ।
उनीहरु नवलपरासीको गैंडाकोट नगरपालिका–६ बुटवलबजारस्थित नारायणी नदीमा माछा मार्ने क्रममा फसेका थिए । घटनाबारे जानकारी पाए पश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट १५ जनाको टोली खटाइएकोमा उद्धार हुन नसकेपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोली पठाइएको थियो ।
गोताखोरको टोलीले पाँच घण्टाको प्रयासपछि शनिबार राति सवा १० बजे सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । अनलाइन खबर