लोकतन्त्र समाचारदाता— सर्लाही,भदौ २
थारु कला, सँस्कृति र रीतिरिवाजको संरक्षण गर्ने उद्देश्यले सर्लाहीको लालबन्दी नगरपालिका वडा न-३ जब्दीको भैरवपुरमा थारु संग्रहालयको निर्माण गरिने भएको छ।
संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने माटो तथा काठका भाँडा,माछा मार्न प्रयोग गरिने जाल तथा अन्य सामाग्रहरु,विभिन्न थारु पहिरनलगायत थारु सँस्कृति झल्काउने वस्तुहरु प्रदर्शनीमा राखिने छ ।
थारु सँस्कृति संरक्षण प्रवर्द्धन केन्द्र द्वारा बहुवर्षीय योजना अन्तर्गत संघीय सरकारबाट विनियोजित रकम रु.९० लाखको लागतमा उक्त संग्रहालयको निर्माण हुनलागेको थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाही एवं थारु सँस्कृति संरक्षण प्रबर्द्धन केन्द्रका अध्यक्ष सूर्यनारायण चौधरीले जानकारी दिए ।
भवन निर्माण कार्य प्रारम्भ गर्नका लागि कार्यालय समेत स्थापना भइसकेको छ।
उक्त कार्यालयको शुक्रवार एक समारोहका बिच संविधान सभा सदस्य रामचन्द्र चौधरीले उद्घाटन समेत गरिसकेका छन् ।
उद्घाटन कार्यक्रममा उपस्थित भएका लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियारलगायतले थारु संग्रहालय निर्माणका लागि आ–आफ्नो पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थारु सँस्कृति संरक्षण प्रबर्द्धन केन्द्रका अध्यक्ष चौधरीले जानकारी दिए।