![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/10/53939e03-03d6-4ade-ad45-da35e607713d_hvvkZBTH1x.jpg)
बारा जीतपुर। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १०, नितनपुरमा वडा अध्यक्ष संजय पटेलविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको छ। वडा कार्यालय अगाडि स्थानीयले प्रदर्शन गर्दै आर्थिक वर्ष २०८०/०८१ को बजेटमा व्यापक भ्रष्टाचार भएको दाबी गरेका छन्।
बजेट हिनामिनाको आरोप
निवर्तमान वडा अध्यक्ष सरोज पटेलले आरोप लगाउँदै भने, “वडा कार्यालयलाई बिनियोजित १ करोड ६ लाख ३ हजार रुपैयाँ बजेटमध्ये ५८ लाख ७८ हजार रुपैयाँ बिना कुनै काम हिनामिना गरिएको छ।” उनका अनुसार, विभिन्न शीर्षकमा रकमको दुरुपयोग भएको छ।
आरोप अनुसार भ्रष्टाचार गरिएका शीर्षकहरू:
अन्य कार्यालय खर्च – ३ लाख
अवलोकन भ्रमण – ६५ हजार
नाला सफाई – २ लाख
लक्षित वर्ग कार्यक्रम – ५ लाख
शैक्षिक अनुदान (ने.रा.आ.बि. नितनपुर) – १ लाख ५० हजार
शैक्षिक अनुदान (ने.रा.आ.बि. बेहरा) – ८५ हजार
शिक्षा तथा खेलकुद विकास – १ लाख ४० हजार
स्वास्थ्य औषधि खरिद – ३ लाख
आकस्मिक खर्च – २ लाख
ईन्धन मर्मत तथा सडक स्तरोन्नति – ७ लाख ४६ हजार
ब्रहमबाबा बाउन्ड्रीवाल निर्माण – १० लाख
नितनपुर स्कुल बाउन्ड्रीवाल निर्माण – ५ लाख
बेहरा चौक सडक डिभाइडर निर्माण – ५ लाख
छठघाट माटो पुर्न योजना – ५ लाख
धर्म संस्कृति (छठघाट सजावट) – ४ लाख
सुत्केरी भत्ता – २ लाख ७ हजार
स्थानीयको आक्रोश
वडा अध्यक्ष पटेलले यी सबै शीर्षकहरूमा बिना काम नै बजेटको रकम भुक्तानी गरेको आरोप लगाइएको छ। यसै विषयमा निवर्तमान अध्यक्ष सरोज पटेलले स्थानीयलाई साथ दिँदै प्रदर्शनको नेतृत्व गरेका थिए।
भेलामा करिब १०० जना भन्दा बढी स्थानीयको सहभागिता रहेको थियो, जसमा रामबाबु साह, सुगन्धि पासवान लगायतका व्यक्तिहरू पनि उपस्थित थिए।
सम्बन्धित निकायले यथाशीघ्र अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन स्थानीयले माग गरेका छन्। यात्रा डेली