![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/10/SP-Kumod-Dhungel-yatra_nQAhy1LQEd.jpg)
वीरगञ्ज । चाडपर्वका अवसरमा हुन सक्ने आपराधिक गतिविधिहरू नियन्त्रण गर्न पर्सा प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले दसैँ, तिहार र छठ पर्वलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।
एसपी ढुङ्गेलका अनुसार, जिल्ला प्रहरीको आफ्नै टोली पनि सुरक्षामा तैनाथ छ भने जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली पनि परिचालन गरिएको छ ।
उनले भने, ‘चाडपर्वमा नागरिकको चहलपहल बढ्ने र आर्थिक कारोबारको गति तीव्र हुने भएकाले लुटपाट, चोरी र ठगीका घटनाहरू बढ्न सक्ने खतरा रहेको छ । यसलाई मध्यनजर गर्दै पर्सा प्रहरीले ‘सरप्राइज चेकिङ’, साधा पोसाकमा प्रहरी परिचालन, सीमा क्षेत्रको कडा निगरानी, र भिडभाड हुने स्थानहरूमा निगरानी राखेको छ ।’
वीरगञ्जको बसपार्क, नगवा, घण्टाघर, शङ्कराचार्य गेटलगायतका विभिन्न सात स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) पनि स्थापना गरिएको उनले जानकारी दिए ।
चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न सर्वसाधारण नागरिकको सूचनाको भूमिका महत्त्वपूर्ण हुने एसपी ढुङ्गेलले बताएका छन् । “कतै कुनै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रह गर्दछु”, उनले भने ।
यसका लागि नेपाल प्रहरीको हटलाइन १०० र सञ्चार शाखाको ९८५५०९०३२९ नम्बरमा सम्पर्क गर्न पनि उनले अनुरोध गरे ।
खुला सीमा क्षेत्रका कारण छिमेकी मुलुक भारतबाट गलत मनसाय राखेर आउने व्यक्तिहरूको गतिविधिलाई नियन्त्रण गर्न विशेष तयारी उनको भनाइ छ ।
विशेष गरी लुटपाट र चोरीजस्ता घटनाहरूको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था बलियो पारिएको हुँदा ढुक्क भएर चाडबाड मनाउन पनि उनले विश्वास दिलाएका छन् ।
पर्सा जिल्लामा करिब ११ सय जनाको जनशक्ति परिचालित रहेकोमा, मधेस प्रदेश प्रहरी कार्यालयबाट थप जनशक्ति मगाएर परिचालन गरिएको उनको भनाई छ । चाडपर्वमा विभिन्न धर्म, जातजाति, र समुदायहरूबिच धार्मिक सहिष्णुता कायम राख्न र सभ्य नागरिकको परिचय दिन पनि एसपी ढुङ्गेलले अपिल गरेका छन् ।
चाडपर्वको समयमा शान्ति, सुरक्षा, र सामुदायिक सौहार्द कायम गर्न प्रहरी प्रशासनले स्थानीय जनताको सक्रिय सहयोग र सतर्कता आवश्यक रहेको बताउँदै आएको छ । यात्रा डेली