Loktantra Khabar National Weekly
Ad

वीरगञ्ज अलौंमा भएको दुर्व्यवहारका दोषीलाई कारबाहीको माग, तीन प्रमुख दलको विज्ञप्ती

लोकतन्त्र खबर
२३ आश्विन २०८१

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौंमा पानी निकासीको अनुगमन गर्न पुगेका जनप्रतिनिधिहरूमाथि भएको दुर्व्यवहार र हुलहुज्जतको घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाहीको माग गर्दै प्रमुख तीन राजनीतिक दल—नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), र नेपाली कांग्रेसले सयुक्त आवाज उठाएका छन् ।

नेकपा एमालेको माग 
नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दर प्रसाद कुर्मीले जारी गरेको विज्ञप्तिमा पार्टीले सुदर्शन लामिछानेद्वारा वडा नं. १७ का वडा सदस्य एवं नेकपा एमालेका वीरगञ्ज महानगर कमिटी सचिवालय सदस्य आमोद यादवमाथि भएको हातपातको कडा भत्र्सना गरेको छ । एमालेले लामिछानेलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई जोडदार माग गरेको छ । विज्ञप्तिमा कुनै पनि समस्याको समाधान वार्ता र छलफलकै माध्यमबाट गर्नुपर्नेमा यस्तो हिंसात्मक गतिविधि न्यायोचित नरहेको उल्लेख छ ।

जनता समाजवादी पार्टीको प्रतिक्रिया 
जनता समाजवादी पार्टीले पनि प्रमुख राजेशमान सिंहमाथि भएको दुर्व्यवहारलाई “अराजकता“ भन्दै लामिछाने परिवारलाई कारबाही गर्न माग गरेको छ । पार्टीका वीरगञ्ज महानगर कार्यसमिति अध्यक्ष इश्वरचन्द्र यादवद्वारा जारी विज्ञप्तिमा, अलौंका सुदर्शन लामिछाने र उनका पिता शिव ओम लामिछानेले नगर प्रमुखमाथि दुव्र्यवहार गरेको घटना घोर निन्दनीय रहेको बताइएको छ । जसपाले नागरिकका समस्या समाधान गर्न प्रमुख सिंहको प्रत्यक्ष अनुगमनलाई सह्रानीय कदम ठहर गरेको छ र यस प्रकारको हिंसात्मक गतिविधिमा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

यता नेपाली कांग्रेस पर्साले भने नगर प्रमुख सिंहलाई नै दोषी ठहर गर्दै कारबाहीको माग गरेको छ । पार्टीका प्रवक्ता रमेश पाण्डेयद्वारा जारी विज्ञप्तिमा नगर प्रमुख सिंहले शिव ओम लामिछानेमाथि दुर्व्यवहार गरेको र उनका छोरा सुदर्शन लामिछानेलाई नगर प्रहरीले कुटपिट गरेको भन्दै कांग्रेसले खेद प्रकट गरेको छ । कांग्रेसले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न जोडदार माग गरेको छ ।

तीन प्रमुख दलहरूको विज्ञप्तिमा आ–आफ्ना धारणा र माग भए पनि उनीहरू सबैले घटनामा संलग्न दोषीहरूलाई कानूनी दायरामा ल्याउन जोड दिएका छन्। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: