Loktantra Khabar National Weekly
Ad

उपभोक्तामाथि मनपरी मूल्यको ज्यादती बन्द गर

लोकतन्त्र खबर
२३ आश्विन २०८१

दसैंजस्तो बहुसंख्यकले मनाउने चाडपर्व नजिकिएपछि अनौठोसँग मानिसहरूको आवश्यकता र चाहना बढ्छन् । त्यही कारण बजारमा दैनिक उपभोग्यदेखि विलासिताका सामग्रीसम्मको खरिद–बिक्री बढ्छ ।

माग, आपूर्ति र उपभोगको चक्र चलायमान हुन्छ । यो चक्र बजारका सर्वमान्य नियमका आधारमा स्वस्थ प्रकृतिको हुन्थ्यो भने त्यसले बहुकोणीय ढंगले बहुपक्षलाई लाभ पुग्थ्यो ।

समग्र अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेल्थ्यो । तर, हामीकहाँ भने यही समयमा बजारका नियमहरू असान्दर्भिक हुन्छन् । जथाभाबी बढ्छ । खासगरी उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्य तिर्नुपर्छ ।

त्यस्ता वस्तुको मूल्य किन बढ्यो, त्यो कति जायज कारण हो भन्ने थाहै नपाई चर्को मूल्य तिरेर आफ्नो आवश्यकताको सम्बोधन गर्न उनीहरू बाध्य हुन्छन् । यो प्रवृत्ति नियमित अस्वाभाविकता बनेको छ ।

अस्वाभाविक मूल्यको यथार्थ बुझ्न अहिले बजारमा तय भएको तरकारीको मूल्य नै पर्याप्त छ । अहिलेको मूल्यलाई अघिल्लो वर्षको यही समयको मूल्यसँग तुलना गरेर हेर्ने हो भने तरकारीमा बढेको मूल्य अस्वाभाविक रहेको निष्कर्ष निकाल्न सकिन्छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार, २०८० असोज २१ मा ठूलो गोलभेंडाको मूल्य प्रतिकेजी ३८ रुपैयाँ थियो, २०८१ असोज २१ मा त्यसको मूल्य १४५ रुपैयाँ पुगेको छ ।

दसैंमा अधिक माग हुने सुकेको प्याज (भारतीय) अघिल्लो वर्ष प्रतिकेजी ७४ रुपैयाँ थियो, अहिले ११५ पुगेको छ । त्यस्तै लाम्चो भान्टा प्रतिकेजी ३५ रुपैयाँ थियो, यसपटक ८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै खाद्यान्नको मूल्यमा पनि वृद्धि भएको देखिन्छ । २०८० असोजमा स्टिम जिरा मसिनो चामल प्रतिकेजी ९५ पर्थ्यो, अहिले त्यसको मूल्य ११० रुपैयाँ पुगेको छ । त्यस्तै, तराई ताइचिन चिउरा १०५ बाट १२० र सनफ्लावर तेल २०५ बाट २२० पुगेको छ ।

अहिले तरकारी तथा खाद्यान्न मात्रै होइन, सार्वजनिक सवारीसाधनमा असुलिने भाडा पनि अस्वाभाविक छ । दसैंमा यात्रुको मागअनुसार सवारीसाधन सहजै उपलब्ध हुँदैनन् । यातायात प्रणालीसँग जोडिएकाहरूले यात्रुको अप्ठ्यारोलाई उच्च नाफा कमाउने अवसरका रूपमा दुरुपयोग गर्ने गरेका छन् ।

त्यहीमाथि हालैको भारी वर्षाका कारण सिर्जना भएको बाढी, पहिरो तथा डुबानले सडक संरचनामा क्षति पुगेको छ । यो समेत कारण देखाएर यात्रुसँग दोब्बर भाडा उठाउने गरिएको छ ।

यात्रा गर्न विवश यात्रुहरूले महँगो मूल्य तिरेरै भए पनि टिकट खरिद गर्नुपर्ने बाध्यता छ । किनकि, उनीहरूलाई विश्वास छैन कि सरकारले अनुगमन गर्छ र उचित/तोकिएको मूल्यमा अर्को टिकट दिलाइदिनेछ ।

धेरैले जसरी पनि यात्रा गर्नुपर्ने बाध्यता र टिकट मूल्यमा मतान्तर राख्दा यात्रा अवधिमा आइपर्न सक्ने झमेलाका कारण पनि महँगो मूल्य तिर्ने तर त्यसबारे नखुल्ने गरेको पाइन्छ ।

काठमाडौंलगायतका सहरमा धेरैले प्रयोग गर्ने ट्याक्सीले समेत चाडपर्वलगायतका कारण देखाएर महँगो शुल्क लिने गरेका छन् । हवाई यात्राको टिकट मूल्य ११/१२ गतेको विपत्तिपछि नै ह्वात्तै बढेको थियो ।

उनीहरूले लिएको मूल्य अधिकतम सीमाभित्रै भए पनि जुन तरिकाले बढोत्तरी भयो, त्यो भने अस्वाभाविक थियो । त्यसैले पनि यसपटक हवाई कम्पनीहरूले आलोचना खेप्नुपर्‍यो ।

यसरी चाडपर्व तथा उपभोगमा वृद्धि हुने कुनै पनि सन्दर्भमा नेपाली बजार मूल्यको दृष्टिले अनियन्त्रित हुने गरेको छ । कुनै वैज्ञानिक र तार्किक कारणबिनै उपभोक्ताले बढी मूल्य तिरेर ठगिनुपरेको छ ।

तर यतिबेला सरकार तथा जिम्मेवार निकायहरूले सार्थक हस्तक्षेप गर्न सकेको पाइँदैन । अहिले महानगरदेखि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसम्मले अनुगमन त गरिरहेका छन् ।

तर त्यो प्रभावकारी हुन सकेको छैन । बरु पूरापूर नियमित कर्मकाण्डमा सीमित भएको छ । किनकि, अनुगमनबाट उपभोक्ताले कुनै लाभ पाउन सकेका छैनन् । यस्तो लाग्छ कि, सम्बन्धित निकायको अनुगमन र उपभोक्तामाथि चर्को मूल्यको ज्यादती आआफ्नै बाटोमा हिँडिरहेका छन् ।

चाडपर्वमा वस्तुको मूल्य अस्वाभाविक बढाइने समस्या वर्षौंदेखिको हो । यसबारे सबै तहका सरकार र अनुगमनको जिम्मेवारी पाएका निकायलाई थाहा छ । तर पनि हरेक वर्ष यो समस्या दोहोरिने गरेको छ ।

अब सरकारले अस्वाभाविक मूल्य वृद्धिलाई रोक्नका लागि दीर्घकालीन समाधानको उपाय पहिल्याउन जरुरी छ । त्यसैले तत्कालका लागि अहिले कायम अस्वाभाविक मूल्यलाई तार्किक बिन्दुमा समेट्न पहल हुनुपर्छ ।

दोस्रो, यो विषय अब स्थायी रूपमै समाधान गर्नका लागि कानुनी र संरचनागत परिवर्तन आवश्यक छ भने पनि पहल थालिनुपर्छ । हरेक वर्ष उपभोक्ता ठगिने प्रवृत्ति अन्त्य हुनुपर्छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: