मनोज यादव-
सर्लाही,माघ २१
पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप”अभियान २०८१ लाई भव्य रुपमा सम्पन्न गराउन जिल्ला स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरु बिच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा आइतवार स्वास्थ्य क्षेत्रका विशेषज्ञ तथा सञ्चारकर्मीहरूबीच समन्वय कायम गर्दै एच।भी।पी। खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
देशभरी माघ २२ गते र सर्लाही जिल्लामा माघ २३ गते देखि सुरु भईरहेको एचपीभी खोप अभियान २०८१ आउदो फागुन ७ गते सम्पन्न हुने छ । यो खोप खास गरेर कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई लगाइनेछ । यो खोप १० बर्ष देखि १४ बर्षकी बालिकालाई लगाइने जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा। नवल किशोर झाले जानकारी दिए ।नेपालमा पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएको अवस्थामा नेपाल सरकारले कक्षा ६ देखि कक्षट १० मा अध्ययन गर्ने बालिकाहरुका लागि अभियानका रुपमा संचालन गरेको र यसमा संचारकर्मीहरुलको महत्वपूर्ण भूमिका रहने प्रमुख झाले बताए ।
सरस्वती पुजालाई ध्यानमा राखेर माघ २३ गतेदेखि सुरु हुन गइरहेको “एचपीभी खोप”अभियान २०८१ को लागि सर्लाहीका विभिन्न सामुदायिक र संस्थागत विद्यालयमा गरि जम्मा ५१९ वटा खोप केन्द्रहरुमा ५१९ जना खोप कार्यकर्ता तथा १ हजार ३८ जना स्वयंसेवकहरु खटाइएको छ। अभियानको क्रममा ५१ हजार ७२४ जनालाई एच।पी।भी खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा मलंगवा स्थित स्वास्थ्य कार्यालयको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा जिसस सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा,प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।