
मनोज यादव-
सर्लाही,फाल्गुन ७
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन शीघ्र जारी गराउन भन्दै आन्दोलनको घोषणा गर्दै पहिलो चरणको कार्यक्रमहरु सार्वजनिक गरेको छ। माघ १६ र १७ गते बसेको राष्ट्रिय समिति बैठक अनुसार महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।
महासंघका अनुसार सरकारले विगतमा शिक्षक तथा विद्यालय कर्मचारीहरूसँग भएका सहमति कार्यान्वयन नगरेपछि संघर्षको बाटो अपनाउन बाध्य भएको हो। नेपाल शिक्षक महासंघका अनुसार २०७५, २०७८ र २०८० सालका आन्दोलनहरूको परिणामस्वरूप सरकारले शिक्षक तथा विद्यालय कर्मचारीका हकहितलाई सम्बोधन गर्ने सहमति गरेको थियो। तर, सरकारले बारम्बार बहाना गर्दै ऐन जारी नगरेको महासंघको आरोप छ। संसदीय प्रक्रियामा रहेको विद्यालय शिक्षा ऐनले शिक्षकहरूको मागलाई सम्बोधन गर्नुपर्नेमा उल्टै निवृत्तीभरण सम्बन्धी अध्यादेश जारी गरेर शिक्षकहरूको भावना उपेक्षा गरिएको महासंघको भनाइ छ।
शिक्षक महासंघले स्थायी, राहत, मावि, उमावि, शिक्षण सिकाइ अनुदान, अस्थायी करार, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन हुनुपर्ने बताएको छ। शिक्षकहरूको उचित तलबमान, ग्रेड मिलान, मर्यादाक्रम निर्धारण, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधि सुधार, मासिक तलब भुक्तानीलगायत विषय सरकारले सम्बोधन गर्न नसकेको महासंघको आरोप छ।
महासंघले पहिलो चरणको आन्दोलन सुरु भइसकेको बताउँदै माग पूरा नभए आगामी दिनमा अवरोधात्मक, अवज्ञा, बहिष्कार तथा काठमाडौं केन्द्रित सडक आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ। ऐन जारी नभएसम्म आन्दोलन नरोकिने महासंघको स्पष्ट धारणा छ।
महासंघले आम विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा सबै शिक्षा सरोकारवालालाई आन्दोलनमा साथ दिन आग्रह गर्दै विद्यालय शिक्षा ऐन तत्काल जारी गराउन दबाब दिन अपील गरेको छ।