Loktantra Khabar National Weekly
Ad

मलंगवामा होटल व्यवसायीमाथि कुटपिट, संघद्वारा कारवाहीको माग

लोकतन्त्र खबर
२६ फाल्गुन २०८१

लोकतन्त्र समाचारदाता—
मलंगवा, फागुन २६
सर्लाहीको मलंगवामा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश कार्य समितिका सदस्य मुकेश प्रजापतिमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ मलंगवाले आपत्ति जनाएको छ।
संघले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन २१ गते राति करिब १०:३० बजे मलंगवा-१० स्थित जानकी पार्टी प्यालेस अगाडि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा घटनाका दोषीहरू अझै कानुनी दायरामा नआएको भन्दै संघले घोर आपत्ति जनाएको छ।
संघले स्थानीय प्रशासनलाई दोषीमाथि तुरुन्त कानुनी कारवाही अगाडि बढाउन आग्रह गरेको छ। व्यवसायीहरूमाथि बारम्बार आक्रमण भइरहँदा प्रशासनले मौनता साँधेको संघको आरोप छ। यदि प्रशासनले दोषीलाई कारबाही नगरे व्यवसायीहरू चुप लागेर नबस्ने संघले चेतावनी दिएको छ।
“हाम्रो व्यवसायी साथीहरूमाथि बारम्बार आक्रमण भइरहँदा प्रशासन मुकदर्शक बनेर बस्ने हो भने हामी व्यवसायीहरू पनि चुप लागेर बस्ने छैनौँ,” संघका अध्यक्ष राजेश कुमार शर्मा द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
संघले दोषीलाई कारबाही गरी मुलुकमा विधिको शासन र सुशासनको प्रत्याभूति गराउन स्थानीय प्रशासनसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्: