
मनोज यादव—-
सर्लाही, फाल्गुन २६
हरिपुर नगरपालिकाद्वारा सञ्चालित हरिपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड अन्तर्गतका गतिविधिहरूको अनुगमन सम्पन्न भएको छ। अनुगमन कार्यक्रम परियोजना सल्लाहकार समितिको संयोजनमा बोर्डको कार्यालय, पिडारीमा सम्पन्न भएको हो।
हरिपुर नगरपालिकाको सहकार्यमा अक्सफामको आर्थिक एवं प्राविधिक सहयोग तथा बागमती सेवा समाज नेपालको सहजीकरणमा खानेपानी योजनाहरूको एकीकृत तथा दिगो व्यवस्थापनका लागि हरिपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन गरि परियोजनाअन्तर्गत पहिलो चरणमा पिडारी, सानो जगतपर र इन्द्रपुर खानेपानी आयोजनाहरू सञ्चालनमा रहेका छन्।
हाल सञ्चालनमा रहेका आयोजनाहरूको अवस्था, उनीहरूको दिगोपनाका सम्भावना तथा आत्मनिर्भर बनाउन आवश्यक उपायहरूको खोजी गर्ने उदेश्यले अनुगमन गरिएको परियोजना संयोजक किशोरचन्द्र उपाध्यायले बताए । उपाध्यायका अनुसार सन् २०१८ देखि २०२१ सम्म अक्सफामको सेफ वाटर परियोजनामार्फत पिडारी खानेपानी आयोजनाको भौतिक संरचना निर्माण गरिएको थियो। सन् २०२२ देखि हालसम्म परियोजनाले नगरपालिकाभित्रका अरू खानेपानी आयोजनाहरूलाई पनि सञ्चालन योग्य बनाउने तथा दीगो व्यवस्थापनका लागि कार्य गरिरहेको छ।
हाल तीनवटा खानेपानी आयोजनामार्फत १,०२५ घरधुरीले नियमितरूपमा शुद्ध पिउने पानी उपभोग गरिरहेका छन्। ग्राहकहरूले मासिक महसुल तिरेर बोर्डको सञ्चालनमा सहयोग गरिरहेका छन्। उपभोक्ताहरूको गुनासो सुन्ने र समाधान गर्ने व्यवस्था पनि गरिएको छ। तर, मासिक रु. ३,५०,००० खर्च भइरहेकाले बोर्ड हाल वित्तीय अभाव झेलिरहेको छ। हाल मासिक आम्दानी रु. १,५०,००० मात्र रहेको छ, जसमा अझै रु. २,००,००० घाटा भइरहेको छ। त्यसका लागि थप १,३३३ ग्राहक आवश्यक पर्ने देखिएको छ। तत्काललाई बोर्डलाई वार्षिक रु. २४ लाखको आर्थिक सहयोग आवश्यक रहेको उपाध्यायले जानकारी दिए।
परियोजनाको बारेमा जानकारी गराउँदै उनले आगामी एक वर्षभित्र बोर्डलाई सहज रूपमा सञ्चालन गर्न वैकल्पिक स्रोतहरूको खोजी प्रमुख लक्ष्यमा राखिएको र यसका लागि समन्वय, बहस, पैरवी, अनुगमन तथा समुदायको सहभागितालाई जोड दिइने बताए ।
अनुगमनपछि सहभागीहरूले सेवा क्षेत्र विस्तार गर्नुपर्ने, बोर्डलाई तत्काल आर्थिक सहयोगको आवश्यक रहेकोले विभिन्न स्तरबाट आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने , हाल सञ्चालनमा नरहेका खानेपानी योजनाहरूलाई बोर्ड अन्तर्गत ल्याई आत्मनिर्भर बनाउनु पर्ने तथा सरसफाइको क्षेत्रमा पनि बोर्डले नेतृत्व लिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागी हरिपुर न.पा की उपप्रमुख निलम देवी राय , खानेपानी बोर्डका अध्यक्ष हरि बहादुर थापा,हरिपुर न.पा वडा न-९ का वडाअध्यक्ष विश्वनाथ राय,बोर्डका सदस्य शिवनाथ साह,हरिपुर न.पा शिक्षा बिभाग प्रमुख नागेश्वर राय यादव, योजना विभाग प्रमुख रामदेव चौधरी
बागमती सेवा समाज नेपालका भरत कुमार कार्की ,सचिव बिन्दा कुमारी विक तथा पत्रकारहरु लगायतको सहभागीता रहेको थियो।