![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/01/Biratnagar-Airport-1_pBsQrptrQ0.jpg)
विराटनगर । बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर विमानस्थलको उडान आज पनि प्रभावित बन्ने भएको छ । उपर्युक्त भिजिबिलिटी नहुँदा हिजो विराटनगरबाट एउटा मात्रै एकतर्फी उडान भएको थियो ।
हिजो विराटनगर एयरपोर्टमा पार्किङका लागि मंगलबार साँझ आएको बुद्ध एयरको जहाज काठमाडौँ जाने बाहेक कुनै पनि उडान नभएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । अन्य उडान भने रद्द गरिएको थियो ।
आज पनि मौसमको अवस्था हालसम्म उस्तै रहेको कारण उडान हुने नहुने टुङ्गो नभएको उनले बताए । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ । बुधवार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो ।
विराटनगरबाट काठमाडौंंका लागि दैनिक बुद्ध एयरको ७ वटा, यति एयरलाइन्सको ५ वटा, श्री एयरलाइन्सको ३ वटा र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडानहरू हुने र दैनिक करिब १ हजार हवाई यात्रुहरूले सेवा लिँदै आएका छन् । रातोपाटी संवाददाता